अस्पताल घेर्ने आफन्तहरु
डा सन्देश दाहाल
थापाथलीको एउटा अस्पतालको गेटको छेउमा फोनमा एउटा झ्याम्ले
कुरा गरिरहेछ। “केहि छैन दाई, आजकल। सुख्खा सुख्खा चलिरहेछ। खै कसैलाई केहि भएकै छैन।
अस्ति एउटा अलि सिरियस भएको थियो, तन्नेरी केटा थियो, तर पछी बीरमा रिफर भयो। त्यहाँ त ठिक भएछ। बाबु सोझा थिए, काकालाई उचाल्न सकिन्थ्यो। तर अब के कुरा गर्नु
र?” उताबाट अर्को बोल्यो, ठिकै छ, “अरु नि हेर्दै गर। छुट्ला नि फेरी।” ‘हवस् दाई’, उ बोलेर फोन राख्यो। यो फोनमा बोल्ने मान्छेको
नाम सागर हो। खास घर सिन्धुपाल्चोक हो, भुइचालोमा घर भत्कियो। परिवारका सबै मारिए, ऊ मात्र घर बाहिर भएकोले बाँच्यो। त्यसपछि
काठमान्डू काम खोज्दै आयो। सुरुमा बिर अस्पताल छेउको चिया पसलमा काम गर्थ्यो।
त्यसपछि बिर अस्पतालकै आसपासमा देखिने राजसंग चिनजान भयो जो सधैं त्यहि चिया पसलमा
चिया खान आउथ्यो। सधैं अस्पतालकै आसपास देखेर र अस्पतालकै कुरा गरेको सुनेर एकदिन
राजलाई सागरले सोध्यो- ‘दाइलाई सधैं यहि देख्छु, कोहि बिरामी छ दाइको?” राजले भन्यो, अस्ति अर्कै अस्पतालबाट सिरियस भएको बिरामी यहाँ ल्याएको
थियो, त्यहि हेर्न आएको।” “चिनजान
दाइ ?” सागरको प्रस्न। राजले भन्यो, “कुरा लामो छ भाइ, फेरी कुरा गरौला नि, अहिले हतार छ।” उनीहरुको फेरी फेरी कुरा भयो। अनि सागरले
चिया पसलको काम छोडेर आजकल राज सगै छ, उसको ड्युटी आजकल चाबहिलको एउटा चलेको अस्पतालमा छ।
अस्पतालमा कोहि कराएको रोएको सुन्नेबित्तिकै वा कोहि आइसियुमा भर्ना हुनासाथ सागर
आजकल सोधपुछ गर्न पुगिहाल्छ। यसरि नै यिनीहरु धेरै छन्, रमेश लगनखेलको अस्पतालमा, हरि जावलाखेलमा, आदि आदि। कोहि बिरामी कतै रिफर हुनेबित्तिकै हालखबर बुझेर
यिनीहरु फोनमा आफ्नु काम ह्यान्ड ओभर गरिहाल्छन|
डा शेखर बीर अस्पतालको राम्रो डाक्टर हुन्। एमबिबिएस
कोलम्बो प्लानमा भारतमा सकेर अमेरिका गएर स्वासप्रस्वास रोगमा उच्च अध्ययन सकेर
अमेरिकामा दुइ तिन बर्ष बसे। कमाइ राम्रै थियो, बर्षको झन्डै एकलाख डलर भन्दा ज्यादा थियो। सबै सुबिधा, घर गाडी सबै किनिसकेर उतै सेटल भैसकेका थिए।
अमेरिकामा पैसा र सुबिधा त छ, देशको छात्रवृत्तिमा पढेपछि त देशको सेवा नि गर्नुपर्यो नि
भन्ने भावनाले उनलाई बेला बेला घच्घच्याईरहन्थ्यो। फेरी नेपालमा जति इज्जत र
पहिचान नि त्यहाँ हुने भएन। नेपालमा आएर काम गर्दा त बिरामीको सेवा मात्र नभएर
सम्पूर्ण चिकित्सा क्षेत्रकै कल्याण होला कि भन्ने उनको सोचाई थियो। तेसैले आराम
चटक्क छोडे, अनि बीर अस्पताल आए। पहिले
करारमा एकबर्ष काम गरे, अनि अर्को साल लोकसेवाको
परिक्षा दिएर स्थायी नियुक्ति लिएर बीरमा बीस हजारको जागिर खान थाले। बर्षको एक
करोड जोगाउने डाक्टरलाई महिनाको २० हजार, हासो पनि उठ्थ्यो, तलब थाप्दा। तर यहि देशमा महिनाको दुइ हजार नकाउने पनि कति
होलान भन्ने सम्झेर चित्त बुझाउथे। समय बित्त्दै गयो। उनि लगन संग काम गर्दै गए, बिरामीको उपचार गर्ने, अनि बिध्यार्थीलाई चिकित्सा र मेडिकल इथिक्स
पढाउने। उनि यति संबेदनशील थिए कि बिरामीले अलिकति दुख पायो, वा अनावस्यक एउटा मात्र परिक्षण भयो भने उनि
मातहतका डाक्टरले ठुलै मूल्य चुकाउनु पर्थ्यो। त्यति बिरामीको माया गर्ने डाक्टर
सायदै भेटिन्छ जीवनमा। बीरको तलबले परिवारको दुइछाक धान्न गार्है पर्ला। तर पनि
चार पाँच साल बाहिर काम गरेनन। पछी थापाथलीको एक अस्पतालको मान्छे सँग चिनजान भयो, अनि उनि साँझ बिहान त्यहाँ गएर केहि बिरामी
हेर्न थाले। त्यहाँ काम गरेको नि धेरै वर्ष भयो। सबै बिरामी सन्तुस्ट नै छन्।
सबैको सेवा गरेकै छन्। उनको पनि जीवन गुजारा भएकै छ। बीरमा विद्यार्थी पढाउने, मेडिकल इथिक्स सिकाउने, र विद्यार्थी डाक्टरको पाठ्यक्रम बनाउने काम
गरेको थुप्रै समय हुनलाग्यो।
एकदिन राति २ बजे डाक्टर शेखरको मोबाइल बज्यो। डाक्टरले
मोबाइल बन्द गरेर आराम सुत्ने छुट कहिले नि हुदैन। आफु अन्तर्गत धेरै बिरामी हुन्छन, कुनै बेला फोन आउनसक्छ। रातको कुनै बेला उठेर
अस्पताल जानुपर्ने हुनसक्छ। उनले फोन उठाए। त्यहि थापाथलीको अस्पतालबाट फोन आएको
थियो, इमर्जेन्सीको ड्युटी
डाक्टरको। “नमस्कार सर”, उताबाट डाक्टर बोले। डा
शेखर- “नमस्कार, के भयो?” ड्युटी डाक्टर- “सर त्यो अस्ति आइसियुमा हजुरको
अन्डरमा भर्ना भएको एकजना ८५ बर्षको बिरामी हुनुहुन्थ्यो नि, मुटुको, फोक्सो, र मिर्गौला खराब भएर डायलाइसिस गरेको। स्वस्प्रास्वासमा
फेरी कठिनाई भएर आउनुभएको छ।” डा शेखर- “के छ त अहिले स्थिति?” ड्युटी डाक्टर- “रगतको रिपोर्ट र एक्स रे मा
फेरी फोक्सोको न्यूमोनिया छ, अक्सिजनको मात्रा ७० तिर मात्र छ, पिसाब नि कम छ, मिर्गौलामा नि समस्या छ। फेरी डायलाइसिस चाहिन्छ जस्तो छ।
फेरी आइसीयु चाहिन्छ।” डा शेखरले फोनमा सबै औषधि भनिदिए, बिरामीलाई अलि सजिलो भयो। तैपनि सबै रोगहरुको
कारणले अब्जरभेसन चाहिने भएकोले आइसियुमा भर्ना गरियो। उपचार सुरु भयो। यी बिरामी
धेरै पटक भर्ना भएका हुन् यो अस्पतालमा। तेसैले डाक्टरको बिरामी, बिरामीको आफन्त संग चिनजान छ। बिहानै ५:३० तिर
डाक्टर शेखर बिरामी हेर्न आए, बिरामीलाई ठिकै थियो। बिरामीको आफन्त संग कुरा भयो, जेठो छोराको असनमा पसल छ। सधैं उनले नै बुबालाई
लिएर आउछन, यो पटक गरेर १२ पटक भयो
भर्ना भएको। बिरामीको चुरोट खाने बानीले फोक्सोमा समस्या थियो, क्रोनिक ब्रोंकाइटिस। त्यसले गर्दा दाहिने मुटु
फेल भएर फोक्सोमा पानि जम्ने, जिउ सुन्निने, स्वास फेर्न गार्हो हुने, जस्तो समस्या भैरहन्थ्यो। अन्तिम समयमा मिर्गौलामा समस्या
भएर डायलाइसिस समेत गरेपछि राम्रो भएर घर गएका थिए, करिब तिन साता अगी। कुरो पुरानो बिरामकै चर्चा बाट सुरु भयो।
डाक्टर शेखरले भने- “पुरानो समस्या धेरै छ, सबै अंगमा। औषधिले काम गरेपनि उमेर बितेपछी जीउले उपचारमा
साथ दिने नदिने यकिन हुदैन। प्रयास त हामी सधैं नै गर्ने हो, सबै कुरा हाम्रो हातमा हुदैन।” उनको छोराले सबै
बुझेकै कुरा थियो, उनले भने- “डाक्टर साब, हामीलाई सबै थाहा छ, तर पनि गरौँ न। हुने नहुने त् छदैछ नि। उपचार
नगरी राख्न नि लोकाचारको समस्या।”
एउटा दैनिक पत्रिकाको कार्यालय। एउटा कोठामा अफिस छ। त्यसमा
एउटा टेबल छ, त्यसमा सगै भएको कुर्सीमा
एकजना मोटे मान्छे छ। त्यो टेबलको अगाडी एउटा पातलो मान्छे उभिएको छ, निन्याउरो अनुहार लगाएर। त्यो मोटो मान्छे
प्रधान सम्पादक हो पत्रिकाको। दुइ पेजका यस्ता दैनिक पत्रिका काठमाडौँ मा कति
निस्किन्छन, कति बन्द हुन्छन। कसैलाई
थाहा छैन, सायद प्रेस काउन्सिल लाइ नि।
ति सम्पादक महोदयले झपारेको स्वरमा त्यो पातलो मान्छेलाई सम्झाउदै छन्,- ‘ यस्तो नि समाचार हुन्छ? के लेखेको यस्तो? यस्तो समाचार लिएर आउ, जुन बिकोस। केहि ग्लामर होस्, केहि घटना होस्, केहि रहस्य होस्। यस्तै समाचारमा त म तलब त दिन्न दिन्न, अर्को महिनाबाट काम गर्न नि दिन्न।” निन्याउरो
अनुहार भएको यो पातलो मान्छेको नाम प्रकाश हो। घर इलाम जिल्ला। एसएलसी पास गरेर
पढ्न र काम गर्न काठमाडौँ छिरेका। उनले जसोतसो मनाबिकिमा आइए पास गरे, महेन्द्र रत्न तचाहल बाट। घरबाट पैसा सहयोग
गर्ने हैसियत छैन, बुबा बिरामी, खेतीबाली नि धेरै छैन। जागिर पाइन्न काठमाडौँमा, खोजिहेरे धेरै दुख गरेर। कतै पाएनन्। खाना खान
नै गारो पर्यो, साथीको उधारोले जीवन जिउन नै
गारो पर्यो। उनको साथीले एउटा उपाय सुझायो, आइए पास गरेर काठमाडौँ मा जागिर पाइन्न। कुनै तालिम चाहिन्छ।
उसको सल्लाह अनुसार उनले तिन महिने पत्रकारिताको तालिम लिए। अनि त्यो सर्टिफिकेट
लिएर उनि सबै पत्रिकाको कार्यालय चाहारे। प्रतिष्ठित पत्रिकाले काम दिने कुरै भएन, बल्ल बल्ल यो दैनिक पत्रिकामा स्वयंसेवी
पत्रकारको जागिर पाए, पत्रिका नाफामा गए पैसा
पाउने, नाफामा नगए पैसा नपाउने गरि।
यहाँ पनि उनको दैनिकी गालि खाने मात्र भएको दुइ महिना काटिसकेको थियो, पत्रिकामा उनको समाचार, र उनको गोजीमा पारिश्रमिक दुवै परेका थिएनन्।
गालि खाएर उनि कालो मुख लगाउदै कार्यालयबाट बाहिर निस्किए, समाचारको खोजीमा।
यता सागरलाई फोन आयो, “हिजो राति एउटा बुढो भर्ना भएको छ रे आइसीयु
थापाथलीमा, फलो गर।” “हस दाई,” यति बोलेर उ अस्पतालतिर लाग्यो। आफन्त सबै
बुझेर उसले सबै जानकारी लियो। अस्पतालमा आइसीयु बाहिर बसेको बिरामीको जेठो छोरो
सँग उ कुरा गर्न थाल्यो। सागर- “महँगो छ है दाइ अस्पताल? औषधि पनि डाक्टरले लेखेको कम्पनीको नै। सबै
चलाउने हो कि डाक्टर नर्सले साट्ने हो थाहा छैन।” बिरामीको छोरो बोल्यो,” धेरै पटक भयो भर्ना भएको, खोइ त्यस्तो त लाग्दैन मलाइ। डाक्टर साबले नि
खुलेर सबै कुरा भनेर सम्झाएर मात्र गर्नुहुन्छ।” सागर बोल्यो,”मलाई थाहा छ, मेरो आमा लाइ नि ४२ दिन आइसियुमा राखेको, ८ लाख सकियो अनि आमा नि रहनुभएन। जग्गा बेचेर
पैसा दिएपछि लास छुटाएको।” सागर बल्छी फाकिरहेको थियो, कसलाई के मतलब उसको कुरा साँचो कि झुठो। तर पनि
बिरामीको जेठो छोरोले पत्याएनन वा मतलब गरेनन।
उपचारको क्रममा बिरामीको अवस्था बिग्रिन थाल्यो। बिरामीलाई
कृतिम स्वासप्रस्वास भेन्टिलेटरमा राख्नु पर्ने भयो। डा शेखरले सबै सम्झाए, मन्जुरी लिएर बिरामीलाई भेन्टिलेटरमा राखिदिए।
घरका सबै सदस्य जम्मा भए। सागरले केस फलो गरिरहेको थियो। बिरामीको कान्छो छोरो अलि
आलोकाँचो थियो, बिबिएसको पढाई आधि मै छोडेर
जिम जान थालेको थियो। आइसियुमा ४ दिन राखेपछि कसरि झन् बिग्रियो भनेर सोध्दै थियो।
दाइले बाहिर बस्न पठाए, बाहिर बसेर यताउता टहल्दै
थियो। सागरले कुरा गर्न सुरु गर्यो। अगिल्लो दिन दाइलाई फ्याकेको सबै कुरा भाइलाई
फ्याक्दै थियो। ४ दिनमा सबै गरेर सवा लाख खर्च भएको कुरा उसलाई थाहा थियो।
बिरामीको अवस्था बिग्रिदै गयो, भेन्टिलेटर मै अक्सिजन घट्दै गयो। सागरले कान्छो छोरोलाई
तयार गर्दै थियो, कान्छो छोरो तयार बन्दै गयो।
आइसीयु बाहिर होहल्ला गर्ने, औषधि लिन जादा नर्ससग झर्किने, झगडा गर्ने, र लापरबाही भयो भन्ने जस्ता कुरा कताकता उसको मुखबाट सुनिन
थालेका थिए।
बिस्तारै बिरामी शिथिल हुदै गए, र अन्तमा मृत्युबरण गरे। बिरामीको जेठ छोरा
पसलमा थिए, डाक्टर शेखरले मृत्युको
समाचार दिन उनको परिवार बोलाए। उनले भर्ना गर्दा बिरामीसंग भएका उनका आफन्त थिएनन।
आफन्त भएर बसेको कान्छो छोरोले डाक्टरको कुरा सुन्न बुझ्न मानेन। सागरले बिरामीका
कान्छा छोरालाई सम्झाए, यो लापरबाही हो, नत्र नहुने बिरामीलाई किन पैसा खान आइसीयु
राख्नु आदि भनेर। कान्छा छोराले उनका दाजुलाई बुबा बितिसकेको, अरु कुरा आफुले मिलाउने र दाइलाई अस्पताल नआउन
भनेर फोनमा भनिदिए। सागरले बिरामीका कान्छा छोरालाई भने-“अब लापरबाही भनेर कराउने, हल्ला गर्ने। शुल्क मिनाहा त हुन्छ नै, अरु नि फाइदा हुन्छ त। तपाईलाई नि फाइदा नै हो
नि।” “पुलिस आउला, समाउला। फेरी आफन्त नि धेरै
छैनन्। कसरि होहल्ला गर्ने नि?”बिरामीको कान्छो छोरोले भन्यो । सागरले भन्यो- “आफन्तको
चिन्ता तपाईं नगर्नु। सब काम म गर्छु, आफन्त मै ल्याउछु। तपाइंले मैले भनेको जस्तो मात्र गर्ने, जे हुन्छ आधा आधा गरौला।” उसले एकछिन सोच्यो र
भन्यो-“के होला त?” सागरले भन्यो-“दस को रेट
चलिराछ, पच्चीस बाट सुरु गर्ने, त्यति त हुन्छ। भर्खर चाबहिलमा त्यति नै भयो।
तर तपाइंको पांच मात्र नि, अरु मेरो ।” उसले एकछिन
सोचेर भन्यो,”अं, त्यस्तो बिरामी, त्यो पनि त्यति पाको उमेरको भएको जान्दा जान्दै त्यत्रो
होला नि। लखेटे भने?” सागर बोल्यो-“ जसरि नि हुन्छ, पुलिसले केस बढाउन सक्दैन, भरपर्दो सुरक्षा नि दिन सक्दैन। छलफलमा जानु
परिहाल्छ। हुलदंगा भैरख्यो भने अस्पताललाई घाटा हुन्छ, फेरी भुइतल्लामा सिटि स्क्यान हरु छ। हुलदंगाले
करौडौको सामान तोडफोड हुन्छ भनेर नि तुरुन्तै बार्ता सुरु हुन्छ। अनि कुरा
मिलिहाल्छ नि।” कान्छो छोरा बोल्यो,” डाक्टरलाई राखेर छानबिन गर्ने भन्यो भने नि?” सागरले भन्यो,” डाक्टरले त अर्को डाक्टरको पक्ष लिहाल्छ नि
भनेर नमान्ने। माने पनि क्षतिपूर्ति बाहेक नमान्ने। यस्तोमा सफल भएको धेरै भयो हौ
ब्रो, चिन्ता नमान न। धेरै नसोच, हाम्लाई थाहा छ क्या आइडिया।” कान्छो छोरो
सन्तुस्ट भयो। सागरले फोन घुमायो,-“दाइ थापाथलीमा केस छ, तुरुन्त २/३ सय आफन्त पठाइदिनु त ।” तुरुन्तै अस्पतालमा
नाराबाजी सुरु भयो। होहल्ला भयो, तनाब भयो।
अस्पताल वरतिर बाटोमा ति प्रशिक्षार्थी पत्रकार प्रकाश गाडी
कुरिरहेका थिए। अस्पताल तिर मान्छे कुदेको देखेर उनि दगुर्दै त्यता गए। अस्पतालमा
पुलिस थियो, भित्र कसैलाई जान दिएको थिएन।
जुलुसको नजिक गए र सोधे के भएको? कसैले उत्तर दियो, डाक्टरको लापरबाहीले बिरामी मरेको रे, तेसैले बिरोध भएको। उ त्यो बिरामीको कान्छो
छोरो रे। उनि बिरामीको कान्छो छोरोको छेउमा गएर सोधे-“के लापरबाही भएको?” बिरामीको कान्छो छोराले प्रकाश पत्रकार भएको
थाहा पाएर बेलिबिस्तार लगायो,- “हल्का खोकी लागेर हिड्दै अस्पताल आएको मेरो तगडा बुबालाई
आइसीयु राखेर, कसैलाई भेट्न नदिएर, कसैलाई नदेखाई जे पायो त्यहि औषधि चलाएर, अनि औषधिले रियाक्सन गरेर बुबा मरेपछि ३ दिन
मेसिनमा हालेको नाटक गरेर अनावस्यक औषधि लिन लगायो र पैसा नि लुट्यो। लापरबाही गर्ने
यो अस्पताल र डाक्टरलाई कारबाही हुनुपर्यो।” अस्पताल अर्को दिन नि बन्द नै रह्यो, कसैले केहि गर्न सकेन। बिरामीको आफन्तले लाश
उठाउन मानेनन्। बरु भोलिपल्ट सुरुमा त्यहि प्रकाशको दैनिकको पहिलो पेजमा ठुलो
अक्षरमा समाचार आयो- “डाक्टर र अस्पतालको लापरबाहीले बिरामीको मृत्यु।” अर्को दिन
अरु पत्रिकामा नि समाचार आयो सोहि शिर्षक मा ।
दुइदिन पछी सर्बपक्षिय बैठक बस्यो। रोगको र उपचारको बारेमा
कुरा गर्ने कसैलाई फुर्सद थिएन। कानुन प्रशाशन, अस्पताल, बिरामीका आफन्त बसेर छलफल थाले। अस्पतालमा दुइ दिनको बन्दमा
क्षतिपूर्ति भन्दा बढी घाटा भैसकेको थियो, उसलाई सल्ट्याउनु थियो, बिरामीका कान्छो छोरो र सागर आफन्त त् परे । प्रशाशनलाई पनि
जसरि पनि मिलाउनु थियो। कुरा क्षतिपूर्ति र डाक्टरलाई हुने कारबाहीमा चल्यो।
सागरको योजनामा नै कुरा २५ बाट सुरु भएर १० लाखमा मिल्यो। पैसाको मात्र कुरा भयो
भनेर डाक्टरको कुरा भयो, अस्पतालले छानबिन गर्ने भनेर
डा शेखर लाइ पत्र दिने भनेर सहमति भयो। सहमतिको साक्षी प्रशाशन र उही पत्रकार
प्रकाश भए। भोलि फेरी पत्रिकामा समाचार आयो, “उपचारमा लापरबाही भएको अस्पतालबाट स्वीकार, १० लाख क्षतिपुर्तिको व्यवस्था। डाक्टर माथि
छानबिन हुने।” डा शेखर फेरी त्यस अस्पताल गएनन्, देशको मायाको पनि राम्रै अनुभव भयो होला सायद । त्यसअघि र
त्यसपछि कयौं डा शेखर हरु छानबिनमा परिसके, कयौं मुद्दाहरु मिलिसके, सागरहरुले कयौं तानाबाना बुनिसके होलान। तर सत्यता जान्न
अहिलेसम्म कुनै छानबिन समिति बसेको छैन। समिति बने त केवल कुरा मिलाउन, अवरोध हटाउन।
(काल्पनिक, कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ)
Comments
Post a Comment